सुस्तायो शेयर बजार, कारोबार साढे ४ अर्बमा सीमित
काठमाडौं, २१ असार । यो साताको दोस्रो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) उत्साहप्रद भएन । नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७२ विन्दुमा आइपुगेको छ ।
दैनिक कारोबार घटेको छ। आइतबार ५ अर्ब बढीको कारोबार भएपनि सोमबार भने २ सय २४ कम्पनीको ४ अर्ब ५८ करोड रुपैयाँको मात्र भएको छ। कारोबारमा आएका १३ समूह मध्ये व्यापार, उत्पादन तथा प्रशोधन, अन्य, म्यूचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको सूचक बढेपनि अरु सबै घटेको छ ।
हिमालयन डिष्टिलरी लिमिटेड र माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण देखिएको छ। हिमालयन डिष्टिलरीको ४१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने माथिल्लो तामाकोशीको १९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस्तै सोमबार सबैभन्दा धेरै शेयर मूल्य वृद्धि भने विशाल बजार कम्पनीको भएको छ । यो कप्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने गोर्खा फाइनान्सको शेयर मूल्यमा आएको छ । यस फाइनान्सको शेयर मूल्य ६.३६ प्रतिशत घटेको छ ।
असार १ मा धितोपत्र बोर्डले लगानी जोखिम रहेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको भएपछि बजारमा ठूला लगानीकर्ताले कारोबार गरेका छैनन् । फलस्वरुप बजारमा दैनिक कारोबार घटिरहेको जानकार बताउँछन् । नेप्से परिसूचक जेठ ३१ गते अहिलेसम्मकै उच्चतम ३०२५.८३ बिन्दूमा पुगेको थियो । उक्त दिन दैनिक कारोबार १८ अर्ब ८८ करोड रुपैयाँको भएको थियो ।