नेपाली फुटवेयर उद्योगमा १२ अर्ब लगानी, उत्पादन क्षमता मागको करिब ४० प्रतिशत मात्र
काठमाडौं, २४ असार । नेपालमा सञ्चालित फुटवेयर (जुत्ता, चप्पल) उद्योगमा १२ अर्ब लगानी भएको पाइएको छ । ६ वटा ठूला जुत्ताचप्पल उद्योग, १५ मध्यम स्तरका उद्योग, ३०० साना उद्योग र १२०० लघु–उद्योगमा गरी उक्त रकम लगानी भएको उद्योग विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागका अनसार वार्षिक जुत्ताचप्पलको उत्पादन गतवर्ष ४ करोड ५० लाख जोडी रहेको छ । यसको वार्षिक माग भने ७.२७ करोड जोडी रहेको छ । यस्ता उद्योगका क्षमता उपयोग ३७.५ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षमा फुटवेयरको माग करिब ९ करोड जोडी हुने अनुमान छ । साथै २०८१÷८२ मा अर्थात् पाँच वर्षमा २८ प्रतिशत बढेर ११ करोड जोडीमा पुग्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षमा नेपालबाट ५६ लाख ६० हजार जोड जुत्ता, चप्पलको निर्यात भएको थियो, जसको मूल्य १६ करोड रुपैयाँ छ, जुन पछिल्ला वर्षको तथ्यांकभन्दा उच्च हो ।
विभागको प्रतिवेदनका अनुसार जुत्ताचप्पल उद्योगहरूले लगभग ७० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सृजना गरेका छन् । जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थहरु लगभग ८० प्रतिशत भारत र चीनबाट हुने गरेको र अन्य बाँकी तेस्रो मुलुकबाट आयात गर्ने गरिएको छ । देशभित्रका उद्योगका उत्पादन क्षमता ४० प्रतिशतभन्दा कम रहेको हालको परिस्थितिमा यसलाई ९० प्रतिशतसम्म पु¥याउने वातावरण बने जुत्ताचप्पल उत्पादनमा आत्मनिर्भर हुने प्रबल सम्भावना रहेको प्रतिवेदनमा भनिएको छ ।