अन्तरबैंक कारोबार : वाणिज्य बैंकहरूको घट्यो, समग्रमा झीनो वृद्धि
काठमाडौं, ५ साउन । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार घटेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को जेठ ससान्तसम्मको तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को सोही अवधिमा अन्तरबैंक कारोबार करिब ३ प्रतिशतले घटेको हो ।
गत आवको जेठ समान्तसम्ममा वाणिज्य बैंकहरूको १४ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो आवको यसै अवधिमा उक्त बैंकहरूको १४ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको थियो ।
समग्र अन्तरबैंक कारोबार भने अघिल्लो आवको तुलनामा बढेको छ । आव २०७६÷७७ मा सबै किसिमका बैंक तथा वित्तीय संस्थाको गरी १५ खर्ब ९१ अर्ब २३ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएकोमा गत आवको ११ महिनामा १६ खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको, जुन १.२३ प्रतिशतले बढी हो ।
वाणिज्य बैंक बाहेकका वित्तीय संस्थाको मात्र अन्तरबैंक कारोबार पनि अघिल्लो आवको तुलना गत आवमा बढेको देखिन्छ । अघिल्लो आवमा वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाको अन्तरबैंक कारोबार १ खर्ब २१ अर्ब ४२ करोढ रुपैयाँ रहेकोमा गत आवको जेठ मसान्तसम्ममा यो १ खर्ब ८५ अर्ब १६ करोड रुपैयाँ रहेको प्रतिवेदनले देखाएको छ ।