Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाले नेपाली हस्तकला सामाग्रीको निर्यात ५ प्रतिशत घट्यो

कोरोनाले नेपाली हस्तकला सामाग्रीको निर्यात ५ प्रतिशत घट्यो

काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०७७÷७८को ९ महिनामा हस्तकलाका सामाग्रीहरुको निर्यात ५ प्रतिशतले घटेको छ । नेपाल हस्तकला महासंघका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा हस्तकलाका सामग्री निर्यात कारोबारमा ५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको उक्त अवधिमा २ अर्ब ९५ करोड ७१ लाख रुपैयाँको हस्तकलाका सामाग्री विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ११ करोड ६३ लाख रुपैयाँको हस्तकला सामाग्री निर्यात भएको थियो ।

उक्त अवधिमा ऊनी तथा फेल्डका सामाग्री सबैभन्दा बढी निर्यात भएको छ । सो अवधिमा ऊनी तथा फेल्डका उत्पादनहरु १ अर्ब १३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उत्पादित सामाग्री ९६ करोड ५८ लाख रुपैयाँको निर्यात भएको महासंघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । मेटल क्राफ्टका सामाग्री निर्यात अघिल्लो वर्षको तुलनामा २१ करोड रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्षको ९ महिनामा ५५ करोड ९८ लाख रुपैयाँको मेटल क्राफ्टका सामाग्री निर्यात भएको भएपनि अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ३० लाख रुपैयाँको सामग्री निर्यात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कमी हो ।

तर, अघिल्लो वर्षको तुलनामा अल्लोका सामाग्रीहरु निर्यात बढेको छ । उक्त अवधिमा ११ लाख १६ हजार रुपैयाँको अल्लोका सामग्री निर्यात भएको महासंघको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष १ लाख ४९ हजार रुपैयाँको अल्लोका सामाग्री निर्यात भएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ६४६ प्रतिशतले रकम वृद्धि भएको महासंघले जनाएको छ । त्यसैगरी लेदरका सामाग्रीहरु निर्यात गत आर्थिक वर्षमा ८७ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्म ४२ लाख ७५ हजार रुपैयाँको लेदरका सामग्रीहरु निर्यात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ करोड ३५ लाख २० हजार रुपैयाँभन्दा बढीको लेदरका सामग्री निर्यात भएका थिए ।

चैतयता सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण खासै धेरै निर्यात नभएको महासंघले जनाएको छ । केही मात्रामा माग अनुसार फाट्फुट्ट हस्तकलाका सामाग्रीको निर्यात भएको भएपनि त्यो तथ्यांक संकलन भइरहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ६४ करोड १ लाख रुपैयाँको हस्तकलाको सामाग्री निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म नै कोभिडका कारण गरिएको बन्दाबन्दीका कारण प्रत्येक्ष प्रभाव परेको थियो ।

आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा ५ अर्ब ३७ करोड ८९ लाख रुपैयाँको हस्तकलाका सामग्री निर्यात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ५ अर्ब २१ करोड २० लाख रुपैयाँको हस्तकलाका सामग्री निर्यात भएको देखिन्छ भने आर्थिक वर्ष २०७३÷७४ मा ५ अर्ब ३८ करोड ३९ लाख रुपैयाँको र आर्थिक वर्ष २०७२÷७३ मा ४ अर्ब ७६ करोड २४ लाख रुपैयाँको हस्तकलाका सामाग्री निर्यात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x