तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा लगानी जुट्यो
काठमाडौं, ११ साउन । तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको छ । कर्मचारी सञ्चय कोषले १२ अर्ब ऋण उपलब्ध गराउने सम्झौता गरेसँगै आयोजनामा लगानी सुनिश्चित भएको हो । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौंमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतवार हस्ताक्षर गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गरेका हुन् ।
तामाकोशी पाँचौंको कुल लगानी १६ अर्ब रहने अनुमान गरिएको छ । कुल लगानीमध्ये १२ अर्ब कोषले उपलब्ध गराउँदा थप ४ अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ ।
झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिए । माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौं अगाडि बढाउन लागिएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।