बढ्न थाल्यो कोभिडको संक्रमण दर, निको हुनेभन्दा २ गुणा बढी संक्रमित

काठमाडौं, १२ साउन । दोस्रो लहरको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो हुन थालेसँगै नेपालमा संक्रमण दर पुनः बढ्न थालेको छ । पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक तथ्यांकले देखाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्यांक हेर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण हुँदा १ हजार ६८६ जना मात्र संक्रमणमुक्त भएका छन् । यसले संक्रमण मु्क्त हुनेभन्दा संक्रमित हुनेहरू करिब २ गुणा बढी रहेको देखाउँछ । कोभिड परीक्षण गरिएको संख्याको तुलनामा यसको संक्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । संक्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *