यी हुन् नेपालमा आयात हुने प्रमुख १० वस्तु
काठमाडौं, १५ साउन । आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माण जोड दिने सरकारको नीति भए पनि मुलुकको वैदेशिक व्यापारको ९० प्रतिशतभन्दा हिस्सा आयातकै हुने गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ कै तथ्यांक हेर्ने हो भने पनि कुल व्यापारमा निर्यातको योगदान ९१.६ प्रतिशत हुँदा निकासीको हिस्सा भने ८.४ प्रतिशतमा सीमित छ ।
आत्मनिर्भर बन्ने रणनीतिक योजना तथा कार्यक्रमको अभाव र भएका नीति तथा कार्यक्रमको समेत दिगो कार्यान्वयन नहुँदा मुलुकमा आम भान्छामा आवश्यक पर्ने नून, मसला र खाद्यान्नदेखि सबैजसो वस्तु आयतले धान्नुपरेको छ । र, आयातित वस्तुको परिमाण तथा विदेशिने रकम वर्षेनि ठूलो मात्रामा बढिरहेको पाइन्छ ।
भन्सार विभागकै तथ्यांकले गत आर्थिक वर्षमा नेपालमा हवाई जहाज तथा पार्ट्स, पामको कच्चातेल र सिमेन्ट क्लिन्कर बाहेक अन्य प्रमुख वस्तुहरूको आयातमा वृद्धि भएको देखाउँछ, जस अनुसार गत आवमा सबैभन्दा बढी फलाम तथा फलाम उत्पादनको आयात ४४.२ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ३४ करोड पुगेको छ । यस्तै पेटोलियम पदार्थको आयातमा ७.१ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ५३ करोड पुगेको भने मेशिनरी तथा पाटर््स २५.९ प्रतिशतले वृद्धि भई १२३ अर्ब ६२ करोडको आयात भएको छ ।
गत आवमा यातायातका साधनहरूको आयात ४९.७ प्रतिशतले वृद्धि भई ९७ अर्ब ३७ करोड पुगेको छ । यसैगरी खाद्यान्नको आयातमा ३९.९ प्रतिशतले वृद्धि भई ७९ अर्ब ५९ करोड, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्रीको आयातमा ११.५ प्रतिशतले बढेर ६० अर्ब ३९ करोड पुगेको छ । सोही अवधिमा भटमासको कच्चातेलको आयात १८५.१ प्रतिशतले वृद्धि भई ५३ अर्ब ३८ करोड र दूरसञ्चारका सामग्रीको आयात ६७.३ प्रतिशतले बढेर ४६ अर्ब ७० करोड पुगेको छ ।
गत आवमा नेपालमा आयात भएका अन्य प्रमुख वस्तुहरूमा औषधीको आयातमा ३९.० प्रतिशतले वृद्धि भई ३६ अर्ब ३७ करोड पुगेको छ भने तयारी पोशाकको आयात २५.३ प्रतिशतले बढेर ३० अर्ब १० करोड पुगेको छ ।