Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जडीबुटीको अवैध निकासी गर्न खोज्ने १० ठेकेदारलाई कारबाही भएन

बाजुरा, माघ १३ गते । जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय भने मौनता साँधेर बसेका छन् । पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन् ।

गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो ।

जिल्लाका उत्तरी भेगबाट अवैध रुपमा सङ्कलन गरिएको करोडाँै मूल्यको जडीबुटी निकासी हुन लाग्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अवैध जडीबुटी बरामदपछि जिल्ला वन कार्यालयअन्तर्गत इलाका वन कार्यालयलाई बुझाइएको थियो ।

जडीबुटी निकासी गर्न खोज्ने दशजना ठेकेदारका नाममा पक्राउ पुर्जी काटिएको एक महिना बितिसक्दा पनि उनीहरु पक्राउ नपरेको जिल्ला वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मनकुमार छन्त्यालले बताउनुभएको छ । उहाँले पक्राउ पुर्जी दिएको एक महिनासम्म पनि पक्राउ गर्न नसकेको स्वीकार गर्नुभएको छ । दुई थरीबीच आरोप प्रत्यारोप चल्दा पक्राउ गर्न नसकिएको बताइन्छ ।

अवैध रुपमा करोडौँ जडीबुटीको कारोबार गर्ने ठेकेदारलाई राजनीतिक संरक्षण दिइएका कारण पक्राउ नगरिएको एक स्रोतले जनाएको छ ।

जिल्ला वन कार्यालयको मातहतमा रहेको इलाका वन कार्यालय कोल्टीले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बढी मूल्यको जडीबुटी बरामद गरेको थियो । विशेष सुराकीका आधारमा अवैध जडीबुटी बरामद गरिएको हो । प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी अवैध जडीबुटी बरामद गरेको थियो ।

वन कार्यालयले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी अवैध जडीबुटी सङ्कलन गरेको देखिएको छ । सङ्कलनमा संलग्न १० जना ठेकेदारविरुद्ध अनुसन्धान सुरु गरिएको निमित्त वन अधिकृत छन्त्यालले बताउनुभयो । वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही र दीपक रेग्मीविरुद्ध अनुसन्धान गरिरहेको छ ।

ठेकेदारलाई बचाउन राजनीतिक दलले दबाब दिँदै आएको बुझिएको छ । जडीबुटी व्यवसायी र जिल्ला वन अधिकृत वेसेन्द्रराज सुवेदीबीच पाँच लाखको लेनदेनमा कुरा नमिलेका कारण जिल्ला वन अधिकृत रातारात जिल्ला छाडेर गएको बताइएको छ । गोरखापत्र दैनिक बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x