माथिल्लो तामाकोशी आयोजनाबाट बिहीवारदेखि व्यावसायिक उत्पादन हुँदै
काठमाडौं, २० साउन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन थाल्ने भएको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाटको उक्त आयोजनाले भोलि (बिहीवार)देखि पहिलो युनिटबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने भएको हो ।
हाल आयोजनाले परीक्षणको रूपमा चारवटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको छ, जसमध्ये पहिलो युनिटबाट साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागिएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट व्यावसायिक उत्पादन गर्न लागिएको उनले बताए । आयोजनाबाट हाल ३०४ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । साउन १८ गतेदेखि चौथो युनिट सञ्चालनमा आएसँगैै उक्त परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह भएको हो ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००÷२२० केभी ढल्केबर सब–स्टेशनसम्म पु¥याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
आयोजनाबाट पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालन भएकोमा भदौभित्रै ६ वटै युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका रहेको आयोजनाले बताएको छ । सबै युनिट सञ्चालनमा आउँदा आयोजनाबाट कुल ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।