सार्वजनिक संस्थानमा साढे ६ खर्ब लगानी हुँदा २ प्रतिशत मात्र प्रतिफल
काठमाडौं, २७ साउन । नेपालका सार्वजनिक संस्थानहरू संकटग्रस्त एवं धराशयी बन्दै गएको पाइएको छ । मंगलवार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थपत्र (श्वेतपत्र)मा सार्वजनिक संस्थानमा खर्बौं लगानी भए पनि प्रतिफल भने निराशाजनक रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक संस्थानमा सरकारले गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा ६ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको लगानी गरेकोमा प्रतिफल भने २ प्रतिशत हाराहारी मात्रै रहेको यथार्थपत्रले देखाएको छ । उक्त तथ्यांकले सरकारले ती संस्थानमा गरेको लगानी ‘बालुवामा पानी’ जस्तै भएको पुष्टि गरेको छ ।
हाल सञ्चालनमा रहेका २४ संस्थान मात्रै नाफामा सञ्चालन छन् । यस्तै १८ संस्थान सामान्य नाफामा छन् । हरेक वर्ष सार्वजनिक संस्थानको सञ्चित नोक्सानी थपिँदै आव २०७६÷७७ मा ३४ अर्ब २४ करोड पुगेको छ । सार्वजनिक संस्थानको व्यवस्थापकीय सुधार हुन नसक्ने हो भने ती निकाय स्थापनाको उद्देश्य र औचित्य स्थापित गर्न सकिने अवस्था नरहेको यर्थाथपत्रमा समावेश छ । कतिपय संस्थानले कोषमा व्यवस्था नगरिएको दायित्व सिर्जना गरेकाले सरकारले वर्षेनि ठूलो रकम खर्च गर्नुपरेको छ ।
संस्थान सुधारका लागि विभिन्न उपाय अवलम्बन गरिएको भए पनि अपेक्षित नतिजा हासिल गर्न नसकिएको उल्लेख छ । निजीकरण गरिएका कतिपय सार्वजनिक संस्थान थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा बन्द वा रुग्ण अवस्थामा पुगेको पाइएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सरकारको जमानीमा वित्तीय संस्थानबाट ऋण दिएर नयाँ जहाज खरिद गरिएको भए पनि व्यवस्थापकीय असक्षमताका कारण व्यापार प्रवद्र्धन हुन नसकेको र व्यापार प्रवद्र्धन गर्न नसकेकाले ऋणको दायित्व बढ्दै गएको श्वेतपत्रमा उल्लेख छ ।