राष्ट्रिय गौरवका आयोजनामा बेथिती, विनियोजित बजेटको ५८ प्रतिशत मात्र खर्च
काठमाडौं, २७ साउन । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामा बेथिती देखिएको अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संसद्मा प्रस्तुत गरेको ‘श्वेतपत्र’मा औंल्याइएको छ । आयोजना कार्यान्वयमा रहेका कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति हुन नसकेको विषयलाई मुलुकको वर्तमान आर्थिक स्थितिबारे यर्थाथपत्रले उल्लेख गरेको हो ।
माथिल्लो तामाकोशीजस्तो बहुप्रतिक्षित आयोजना उद्घाटनपछि तत्काल बन्द गर्नुपरेको विषयले सोही कमजोरीलाई झल्काएको छ । सम्भावित समस्याको सही विश्लेषण नहुँदा मेलम्ची खानेपानी आयोजनाजस्तो राष्ट्रिय महत्वको आयोजनामा प्रतिकूल प्रभाव परेको श्वेतपत्रमा भनिएको छ । हाल २२ वटा राष्ट्रिय गौरवका र १८ वटा रुपान्तरणकारी आयोजना सञ्चालित छन् । आयोजना कार्यान्वयनमा समस्याको निरन्तरता देखिए पनि समाधानको सार्थक प्रयत्न हुन सकेको छैन ।
वित्तीय प्रगतिको हिसाबले आव २०७७÷७८ मा गौरवका आयोजनामा कुल विनियोजित मध्ये ५८ प्रतिशत मात्रै खर्च भएको छ । केही आयोजनामा त खर्चको मात्रा असाध्यै न्यून रहेको छ । कुनै पनि आयोजना पूर्व निर्धारित समय, लागत तथा गुणस्तरमा सम्पन्न हुन सकेका छैनन् । सोही कारण अपेक्षित लाभसमेत हासिल हुन सकेको छैन ।
यर्थाथपत्रमा उल्लेख भएअनुसार कोरोना महामारीका कारण गरिबी र बेरोजगारीको संख्या थप बढ्ने देखिएको छ । मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको र कोरोनाले त्यसमा तीनदेखि चार प्रतिशत थप वृद्धि भएको प्रारम्भिक अनुमान छ । कोरोनाले सबैभन्दा बढी मारमा गरिब र सीमान्तकृत समूह नै सबैभन्दा बढी जोखिममा परेका छन् ।
आर्थिक नीति गरिब तथा सीमान्तकृत समूह केन्द्रित हुन नसकेका कारण तथा आर्थिक वृद्धिदरको तुलनामा पूँजीमा आधारित आयको प्रतिफल दर उच्च रहेकाले आर्थिक असमानता बढ्दै गएको आकलन गर्न सकिने यथार्थपत्रको ठहर छ ।