शेयर बजारको वृद्धि कायमै, बढ्दै गरेको बजारलाई कारोबार रकमको साथ
काठमाडौं, २८ साउन । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १६.३२ अंकले बढेर ३१७८.९१ विन्दुमा उक्लिएको छ। नेप्सेको यो उचाई नयाँ हो ।
कारोबार पनि २ सय २५ कम्पनीको १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ । बुधबार १५ अर्ब ४१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
यो दिन महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना र जीवन विकास लघुवित्तको शेयर मूल्य धेरै बढेको छ । यी सबै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै गुमाउनेमा कम्पनीहरुको सूचीको अग्रस्थानमा भने पाँचथर पावर कम्पनी छ । यो कम्पनीको शेयर मूल्यमा ३.९९ प्रतिशतले घटेको छ ।
यस्तै सबैभन्दा धेरै शेयर कारोबार भने अपर तामाकोशी जलविद्युत आयोजनाको भएको छ । यो कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।