चालू आवको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित : गभर्नर अधिकारी

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताएका हुन् ।
सबैलाई एकै ठाउँमा राखेर भन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर मौद्रिक नीति ल्याएको उनले बताए । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकलाई दिएको उनले उल्लेख गरे ।
चालू आवको मौद्रिक नीतिले एक करोडभन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई गभर्नर अधिकारीले ‘नोबेल पोलिसी’को संज्ञा दिए । शेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सीमा तोकेको उनले बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताए । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठीन समयमा आएको मौद्रिक नीति पुनरुत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको उल्लेख गरे ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताए । वित्त कम्पनी संघका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले १ करोडभन्दा सानो कर्जामा दुई प्रिमियम लिँदा फाइनान्स कम्पनी समस्यामा पर्ने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजीक्षेत्रको अपेक्षा विस्तारित मौद्रिक नीति भए पनि राष्ट्र बैंकले सन्तुलित भनेर संकुचित मौद्रिक नीति ल्याएको उल्लेख गरे ।