पाँचवर्षे रणनीतिक योजना सार्वजनिक गर्दै लगानी बोर्ड
काठमाडौं, २२ भदौ । लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गर्ने भएको छ । बोर्डका अनुसार यही भदौ २३ गते ‘आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सव मनाउन लागेको र सोही सन्दर्भमा रणनीतिक योजनासमेत सार्वजनिक गर्न लागिएको हो ।
सरकारले लगानी विस्तार गर्ने लक्ष्यका साथ २०६८ सालमा बोर्ड स्थापना गरेको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउने र सहज प्रक्रियाबाट काम गर्ने ध्येयका साथ बोर्ड स्थापना गरेका थिए ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेबल बुक सार्वजनिक गर्ने कार्यक्रम रहेको बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जानकारी दिएको राससमा उल्लेख छ । समारोहमा अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विदेशी दातृ निकायका प्रमुख एवम् लगानीकर्ताले समेत आ–आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।