Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मन्त्री नहुँदा घोषणा हुन सकेनन् १० औद्योगिक ग्राम

मन्त्री नहुँदा घोषणा हुन सकेनन् १० औद्योगिक ग्राम

पूर्ण प्रसाद चौलागाईँ

काठमाडौं, ५ असोज । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा मन्त्रालयको काममा प्रत्यक्ष प्रभाव परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत आर्थिक वर्षमै १० वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको भए पनि मन्त्री नहुँदा घोषणा हुन सकेको छैन ।

मन्त्रालयको औद्योगिक पूर्वाधार महाशाखाकी उपसचिव शान्ता नेपाल मरासिनीका अनुसार मन्त्रीको नियुक्त हुन ढिलाइ हुँदा औद्योगिक ग्राम घोषणा हुन सकेका छैनन् । ‘सबै प्रक्रिया पुरा भएर घोषणाको अन्तिम चरणमा रहेका औद्योगिक ग्राम घोषणा हुन सकेका छैनन्,’ उनले भनिन्, ‘गतवर्ष नै १० वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरिएको थियो । तर, सरकार परिवर्तन भए पनि अहिलेसम्म मन्त्री नियुक्त हुन सक्नुभएको छैन ।’ मन्त्री नियुक्त हुनेबित्तिकै १० वटा औद्योगिक ग्राम मन्त्रिपरिषद्मा टेबुल हुने उनको भनाइ छ ।

त्यस्तै, अन्य २० वटा औद्योगिक ग्राम पनि घोषणाको चरणमा रहेको मरासिनीले बताइन् । ‘मन्त्रालयमा औद्योगिक ग्रामका लागि परेका निवेदनहरु हामी अध्ययन गर्दै छौं । थप २० वटा पनि केही समयमै घोषणा गर्नेगरी काम गरिरहेका छौं । त्यसका लागि फिल्ड अवलोकन गर्न कर्मचारी खटाएका छौं,’ उनले भनिन् । यो वर्ष सरकारले ५० वटा औद्योगिक ग्राम घोषण गर्ने लक्ष्य राखेको मरासिनीले जानकारी दिइन् ।

घोषणा भएका प्रत्यक औद्योगिक ग्रामलाई मन्त्रालयले ९२ लाख रुपैयाँका दरले अनुदान रकम दिन्छ । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा २५ रोपनी बनाइएको छ । त्यस्तै पहाडमा ३५ रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ । तराईमा सात बिघा कायम राखिएको छ । औद्योगिक ग्राम घना बस्तीदेखि न्यूनतम १ किलोमिटर टाढा हुनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x