घर–जग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी स्थिर
काठमाडौं, १५ असोज । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा घर–जग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी गतवर्षको सोही अवधिको तुलनामा स्थिर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको ६६.२ प्रतिशत कर्जा घर–जग्गाको धितोमा लगानी भएको छ ।
२०७७ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा ६६.१ प्रतिशत रहेको थियो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । गतवर्षको साउन मसान्तमा यो १२.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.६ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको केन्द्रीय बैंकको प्रतिवेदनले देखाएको छ ।