इन्धनको मूल्य अन्तर्राष्ट्रियस्तरमै बढेपछि चुलिँदै निगमको व्यापार घाटा
काठमाडौं, १७ असोज । अन्तर्राष्ट्रिय स्तरमै बढेको इन्धनको मूल्यको प्रभावले नेपाल आयल निगमको व्यापार घाटा समेत चुलिँदै गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमले नेपाली उपभोक्ताका लागि पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । तर अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा मूल्य समायोजन नहुँदा १५ दिनमा १ अर्ब ५० करोडभन्दा बढी व्यापार घाटा हुने निगमले दाबी गरेको छ ।
आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार ९६१.८८ लागत पर्ने देखिएको निगमले बताएको छ ।
निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको १३०, डिजेल र मट्टितेलको ११३, आन्तरिक हवाई इन्धनको ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४५० तोकिएको छ । उक्त मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।
निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मक रूपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताएका छन् ।
निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ ।
निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धराशयी बन्दै गएको बताउनुहुन्छ । अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर लागतभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको उनको भनाइ छ ।