निर्यात प्रोत्साहन रकम लिने प्रक्रिया सहज बनाउन हस्तकला व्यवसायीको माग
काठमाडौं, १८ असोज । हस्तकला व्यवसायीहरुले सरकारले हस्तकला सामग्री निर्यातमा उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन (अनुदान) लिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । सरकारले हस्तकलाका सामग्री निर्यात गर्ने उद्योगीलाई ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ । तर, कागजी प्रक्रिया र अन्य प्रशासनिक झमेलाले गर्दा सरकारले दिएको नगद अनुदान अधिकांशले लिन नसकेको नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।
डिजिटल प्रविधिको प्रयोग गरेर यसलाई सहज बनाउनुपर्ने उनीहरुको माग छ ।
अझ सरकारले उक्त रकम पनि उद्यमीलाई मात्र दिने गरेको छ । ट्रेडिङ हाउसहरुलाई उक्त सुविधा छैन । तर नेपालमा अधिकांश निर्यात ट्रेडिङ हाउसमार्फत हुने गरेकाले सरकारी नीति विभेदकारी भएको उनको गुनासो छ ।
प्रत्यक्ष निर्यात, अपत्यक्ष निर्यात र आन्तरिक खपत गरी वार्षिक करिब २० अर्ब हस्तकला कारोबार हुने गरेको थियो । तर कोरोनाका कारण आन्तरिक बजार पनि प्रायः ठप्प रहेको छ । करिब ७ खर्ब लगानी र व्यवसायी र कामदार गरी ११ लाखभन्दा बढी व्यक्ति संलग्न रहेको महासंघले जनाएको छ।
नेपाली हस्तकला सामग्रीको सबैभन्दा धेरै मग अमेरीकामा छ । त्यस्तै चीन, जर्मनी, जापान, बेलायत, क्यानडा, नेदरल्याण्ड्स, भारत लगायत मुलुकमा पनि यसको माग उत्तिकै रहेको छ ।