मन्त्रालयहरूले कात्तिकदेखि मासिक १० प्रतिशत पूँजीगत बजेट खर्च गर्नैपर्ने
काठमाडौं, १८ असोज । अर्थ मन्त्रालयले पूँजीगत खर्च बढाउन नयाँ कार्ययोजना ल्याएको छ । मन्त्रालयहरूले अब हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने गरी कार्ययोजना तय गरिएको हो । यो व्यवस्था आगामी कात्तिकदेखि लागू हुने अर्थसचिव मधु कुमार मरासिनीले जानकारी दिए ।
विगतका वर्षहरूमा चौमासिक कार्ययोजना अनुसार खर्च गर्ने गरिएको थियो । साउन, भदौ र असोजमा आवश्यक तयारी गर्नुपर्ने भएकाले पहिलो तीन महिनामा आफूलाई तोकेको पूँजीगत खर्चको १० प्रतिशत खर्च गर्ने र बाँकी ९ महिनामा मासिक कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने सचिव मरासिनीले जानकारी दिए । सोही अनुसार कार्यक्रम बनाउन मन्त्रायहरूलाई निर्देशन दिइसकेको उनले बताए ।
सरकारको पहिलो योजना पूँजीगत खर्च बढाउनु रहेको भन्दै मन्त्रालयले त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको सचिव मरासिनीले बताए । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ छुट्याएको छ । विगत केही वर्षको तथ्यांक हेर्ने हो भने कुनै पनि वर्ष लक्ष्य अनुसार पूँजीगत खर्च हुनै सकेको छैन । चालू आर्थिक वर्षको हालसम्ममा १ प्रतिशत मात्र खर्च भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि हासिल गर्न पनि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । यो वर्ष सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ ।