प्रहरी महानिरिक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र खनाल
काठमाडौं, २७ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरिक्षक (आइजीपी) मा नायब प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । त्यस्तै, सशस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।
आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । खनाल ८ महिनाअघिमात्र नायब प्रहरी महानिरिक्षक (डिआइजी) मा बढुवा भएका हुन् । संयोगवश, यसअघिका आइजीपी प्रकाश अर्याल र खनाल दुवै आइजीपी हुनुअघि महानगरीय टाफिक प्रहरी महाशाखाको डिआइजीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
आइजीपी तथा योजना आयोगको नियुक्ति भागबण्डामा प्रधानमन्त्री र गृहमन्त्रीबीच राय बाझिएपछि बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।