चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या घट्यो
काठमाडौं, २९ असोज । यस वर्ष दशैं, तिहार लगायत चाडबाडको सिजनमा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या सामान्य अवस्थाको तुलनामा घटेको छ । कोभिडअघि यो चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट दशैं (विजया दशमी)को अघिल्लो दिनसम्म करिब २५ लाख मानिस बाहिरिने गरेकोमा यस वर्ष करिब १२ लाख मात्र बाहिरिएको अनुमान गरिएको छ ।
यद्यपि यस वर्ष गत वर्षभन्दा उपत्यकाबाट बाहिरिनेको संख्या दोब्बर बढेको यातायात व्यवसायीले बताएका छन् । गत वर्ष भने कोरोना सङ्क्रमणको जोखिमका कारण कडाइ थियो, यसपालि मानिसहरूमा उक्त संक्रमणको त्रास समेत कम भएको छ ।