भारतले तेलको भन्सार घटाउदा नेपालबाट हुने निर्यात कम हुने अनुमान
काठमाडौं, ३१ असोज । भारत सरकारले खाने तेलको भन्सारमा लाग्ने शुल्क घटाएको छ । भारतले एक महिनायता कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको हो। एक महिनाअघि कच्चा तेलको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर २४.७५ प्रतिशत बनाइएको थियो।
भारतले कच्चा पाम आयल, सोयाबिन तथा सुर्यमुखी तेलमा भन्सार घटाएपछि भन्सार दर फरक भएका कारण नेपालबाट निर्यात गरि फाइदा लिने व्यवसायीहरुलाई असर पर्ने भएको छ । जसका कारण नेपालबाट भारततपर्फको निर्यात पनि घट्ने अनुमान गरिएको छ।
बुधबारदेखि लागू हुनेगरि भारत सरकारले कच्चा पाम आयलको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ । यस्तै सोयाबिन र सुर्यमुखीमा पनि ५ प्रतिशत कायम गरेको छ । भारतको केन्द्रिय भन्सार ब्युरोको अनुसार आगामी मार्च ३१ सम्म आयातमा कुनै शुल्क नलाग्ने तर, तयारी भएका सोयाबिन तेल तथा सुर्यमुखीमा भने आयात शुल्क पुरानै लाग्ने छ ।
तेलका कारण नेपालको निर्यात बढेको भएतापनि यो दीर्घकालीन नहुने अर्थविद्हरुले बताउँदै आएका थिए ।