Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

४२.५ मेगावाट तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण सम्पन्न

४२.५ मेगावाट तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण सम्पन्न

रसुवा, १ कात्तिक । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युत् गृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ ।

आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिएका छन् । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।

विद्युत्गृहमा जडान हुने ६४ प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ । उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x