बाढीपहिरोले अवरुद्ध देशभरका १३१ सडक अझै आंशिक सञ्चालन
काठमाडौं, १ कात्तिक । वर्षाको समयमा बाढी तथा पहिरोका कारण अवरुद्ध भएका देशभरका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालू गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुनेगरी निर्माण गरिने सडक विभागले जनाएको छ ।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रको काम अब गरिनेछ ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ ।
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए । यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ । असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो ।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए । तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन् ।