११ अर्बभन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, १ कात्तिक । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रजरी बिलको आज (सोमवार)देखि बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी ११ अर्ब २० करोड बराबरको टे«जरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको टे«जरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी वैशाख ६ र ३६४ दिने बिल २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते १३ अर्ब २५ करोड बराबरको टे«जरी बिल जारी गरेको थियो ।
टे«जरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । उक्त बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।