Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बैंकिङ प्रणालीमा तरलता अभाव कायमै, आज थप १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता अभाव कायमै, आज थप १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ४ कात्तिक । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि बैंकहरूले निक्षेपमा बढाएको ब्याजदरमा राष्ट्र बैंकले अंकुश लगाइदिएको छ । निक्षेपमा ब्याजदर बढाइएकै अवस्थामा समेत बैंक तथा वित्तीय संस्थालाई लगानीयोग्य रकमको अभाव भइरहेका बेला मंगलवार केन्द्रीय बैंकले जारी गरेको निर्देशन बैंकहरू समस्यामा पर्ने देखिएका छन् ।

यस्तोमा तरलता व्यवस्थामा केही सहज बनाउन राष्ट्र बैंकले आज (कात्तिक ४ गते) थप १० अर्ब बराबरको सातदिने अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अंकको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मंगलवार तीनबुँदे निर्देशन जारी गरेको थियो ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x