११५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा समेत चुलियो

काठमाडौं, ९ कात्तिक । आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालमा निर्यातमा १०.५ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ भने वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि बढेर ३१४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२।१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

चालू आवको दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई २७० अर्ब ४८करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *