Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकको नीतिको प्रभाव शेयर बजारमा : एक निर्णयले बजार लयमा फर्किंदै

राष्ट्र बैंकको नीतिको प्रभाव शेयर बजारमा : एक निर्णयले बजार लयमा फर्किंदै

बलराम बुढाथोकी

काठमाडौं, ९ कात्तिक । पछिल्लो हप्ता शेयर बजार उच्च अंकले वृद्धि हुन थालेको छ । लगातारजसो घट्दै आएको बजार केही दिनयता उच्च अंकले उकालो लाग्न थालेको हो । त्यस्तै कारोबार रकममा पनि सुधार देखिएको छ ।

गत भदौ २ गते शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुगेर बन्द भयो । त्यसयता घट्दै गएको बजार दुई महिनाको अवधिमा करिब २० प्रतिशतले घटेर २ हजार ५ सय विन्दुमा झरेर बन्द भयो । पछिल्लो समय नेप्से परिसूचक घट्नुको मुख्य कारण राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जासम्बन्धी व्यवस्था गरेको ४ र १२ करोडको सीमा तथा बैंकहरूको ब्याजदर वृद्धिलाई लिइएको छ ।

शेयर बजार विश्लेषक रवीन्द्र भट्टराईका अनुसार बजार घट्नुको प्रमुख कारण आम लगानीकर्ताको मनस्थितिमा राष्ट्र बैंकको नीति बस्नुका साथै त्यसै समयमा बैंकहरूले निक्षेप र कर्जामा बढाएको ब्याजदर पनि हो । उनी भन्छन्, ‘बजार बढिरहेको समयमा राष्ट्र बैंकले ४ र १२ करोडको व्यवस्था गरिदियो । यो व्यवस्थाले ठूला लगानीकर्तालाई त प्रभाव प¥यो नै, ती लगानीकर्ताका प्रभावमा साना लगानीकर्ता पनि परे ।’

बजार २८०० को विन्दुमा अडिन्छ भन्ने आकलन गर्दा गर्दै बैंकहरूले ब्याजदर बढाएपछि बजार घट्न थालेको थियो । राष्ट्र बैंकले बैंकहरूको ब्याजदरमा अंकुश लगाएपछि बैंकहरूले ब्याजदर एक अंकमा झारेका छन् । त्यसले गर्दा पछिल्लो समय बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । ‘ब्याजदर र शेयर बजारको सम्बन्ध उल्टो हुन्छ । ब्याजदर बढ्यो भने बजार घट्छ, ब्याजदर घट्यो भने शेयर बजार बढ्छ,’ भट्टराईले भने ।

बैंकहरूले कर्जा र निक्षेपको ब्याज स्थिर राख्न सके शेयर बजारमा सकारात्मक प्रभाव देखिने भट्टराईको भनाइ छ । उनले भने, ‘अब बैंकहरूले बचत र ऋणको ब्याज कसरी लिएर जान्छन् ? बढाउने, घटाउने अथवा स्थिर हुने, के हुन सक्छ ? त्यसले नै बजारको दिशा निर्धारण गरिरहेको हुन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटबढको सम्बन्धमा १० प्रतिशतको जुन किसिमको सीमा तोकिदिएको छ, त्यसले ब्याजदरमा स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।’

घटबढ बजारको स्वाभाविक नियम नै हो । तर पछिल्लो समय निरन्तर बढिरहेको बजारमा ह्रास आउँदा लगानीकर्ता केही हदसम्म निराशमा देखिएका छन्, जसको प्रभाव स्वरूप परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ । यसअघि गत साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा अहिले दैनिक औसत ३–४ अर्बको हाराहारीमा कारोबार भइरहेको छ ।

बजार घटबढमा बैंकको ब्याजदरले प्रत्यक्ष प्रभाव पार्ने हुँदा राष्ट्र बैंकको पछिल्लो निर्देशनले बजार बढेको अर्थशास्त्री बताउँछन् । शेयर बजार बढ्न बैंकको ब्याजदर एक अंकमा झर्नुपर्ने अर्थशास्त्री डा. भरतसिंह थापा बताउँछन् । उनका अनुसार राष्ट्र बैंकले बैंकरूलाई ब्याजदरको सीमा तोकिदिएकाले त्यसको प्रभाव बजारमा देखिन थालेको छ ।

योसँगै आम लगानीकर्ताका लागि निकै चासोको विषय छ आगामी दिनमा बजारको दिशा कस्तो होला ? तर, राष्ट्र बैंकको नीतिसँगै बैंकको ब्याजदर वृद्धिले केही खस्किएको बजारको आगामी दिशा पनि बैंकहरूले कायम गर्ने ब्याजदरले नै निर्धारण गर्ने अर्थशास्त्री थापा बताउँछन् । बैंकहरूले अहिले राष्ट्र बैंकको निर्देशनमा ब्याजदर घटाएका भए पनि निक्षेप कम हुँदै गएपछि ब्याजदर बढाउने सम्भावना रहेको उनी बताउँछन् । थापाले भने, ‘अहिल्यै पनि निक्षेप संकलन कम रहेको छ भने कर्जा लगानी बढेको छ । यसले बैंकमा पैसा कम हुँदै जान्छ र आगामी दिनमा राष्ट्र बैंकले ब्याजदर बढाउन फुकुवा गर्न सक्ने सम्भावना छ ।’ ब्याजदर पुनः बढ्यो भने केही हदसम्म बजारमा प्रभाव पर्ने थापाको आकलन छ । तर, पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको निकै उत्साहपूर्ण सहभागिता भएकाले बजार धेरै नघट्ने पनि उनको बुझाइ छ । थापाले भने, ‘विश्व बैंक र आईएमएफ बैंकहरूलाई ब्याजदरको विषयमा स्वतन्त्र छोड्नुपर्छ भनिसकेको छ । अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध राम्रो बनाउन पनि राष्ट्र बैंकले केही महिना पछि अर्काे निर्णय गर्न सक्छ । त्यसपछि बैंकले पैसा जोहो गर्न पनि ब्याजदर बढाउँछन् ।’ ब्याजदर बढ्नेबित्तिकै बजारमा नकारात्मक प्रभाव पर्ने थापाले बताए । ‘ब्याजदर स्थिर नभएसम्म बजारमा सकारात्मक संकेत देखिँदैछ । राष्ट्र बैंकले ब्याजदर कम हुनेगरी निर्णय नगरिकन बजार सचिन गाह्रो छ,’ उनले भने, ‘तर, बजार धेरै तलसम्म पनि झर्दैन । किन झर्दैन भने स–साना लगानीकर्ता धेरै बजार प्रवेश गरेका छन् । साना लागनीकर्ता बजारमा खेल्दैनन् । एकपटक किनेर त्यत्तिकै छोड्नेहरू धेरै छन् । गाउँगाउँका लगानीकर्ता बजारमा प्रवेश गरेका छन् ।’

सिडिएस एन्ड क्लियरिङका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४५ लाख ३९ हजार ९०० पुगेको छ । मेरो शेयरको प्रयोगकर्ता पनि सोही अनुपातमा बढेर ३६ लाख ५२ हजार पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x