गौतमबुद्ध विमानस्थल : व्यावसायिक उडान सञ्चालन हुन अझै ५ महिना लाग्ने
काठमाडौं, २२ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रूपमा उडान सञ्चालनमा आउन अझै ५ महिना लाग्ने भएको छ । विमानस्थलमा तुरुन्तै गर्नपर्ने क्यालिब्रेसन फ्लाइट, त्यसपछि परीक्षण उडान सकेर मात्रै व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यसका लागि ५ महिना लाग्ने प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ । विमानस्थलको टेक्निकल स्टाटसको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने उनले बताएका हुन् ।
विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । क्यालिब्रेसन फ्लाइटबाट विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भन्ने यकीन गर्न सकिन्छ । यसका लागि जहाज नै ल्याएर उडान–अवतरण गरिन्छ । एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक क्षेत्रीले जानकारी दिए ।