माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २७ कात्तिक । माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न सभाले यसअघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
साथै हाल बैंकको संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ति समेत अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित रहेको जनाएको छ ।