समाजवाद उन्मुख अर्थतन्त्रको विकासको बारेमा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, २८ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन् ।
‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुप¥यो, थाहा पाउनुप¥यो’, मन्त्री शर्माले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’
संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिए । समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ । उनले व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनले बताए ।
‘आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ’, मन्त्री शर्माले भने, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’