जीवन बीमालेख तथा व्यवसायमा उल्लेख्य वृद्धि
काठमाडौं, २९ कात्तिक । एक वर्ष अवधिमा जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख तथा बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतभन्दा धेरैले बढेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
समितिका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा जीवन बीमालेख संख्या २०.३८ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको असोजसम्ममा कुल जीवन बीमालेख ७० लाख २९ हजार १७४ वटा जारी भएको एक वर्ष अवधिमा गत असोज मसान्तसम्ममा ८४ लाख ६१ हजार ६७६ वटा पुगेको छ ।
यस्तै सो अवधिमा वैदेशिक रोजगारतर्फको जीवन बीमालेख गतवर्षको तुलनामा ३४.७६ प्रतिशतले बढेर ५ लाख ४७ हजार ६०१ पुगेको छ ।
समितिका अनुसार जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन समेत १८.२८ प्रतिशतले बढेर २८ अर्ब १८ करोड रुपैयाँ नाघेको छ । यस्तै निर्जीवनतर्फको बीमाशुल्क २७.८८ प्रतिशतले वृद्धि भएर ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।