Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

४३९ मेगावाट बेतन कर्णाली जलविद्युत्को काम अघि बढाइँदै

४३९ मेगावाट बेतन कर्णाली जलविद्युत्को काम अघि बढाइँदै

सुर्खेत, २३ मंसिर । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायत काम पूरा गरिनेछ । प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले तीन वर्षको अध्ययनपश्चात् आउँदो वर्षदेखि आयोजना निर्माणको चरणमा प्रवेश गर्ने बताएको छ ।

४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेस क्याम्पहाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ र बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । उत्पादित बिजुली प्रसारण लाइनमा जोड्न सुर्खेतको भूम्केमा सबस्टेशन निर्माण गर्नेगरी आयोजनाको ‘डिजाइन’ गरिएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारका अनुसार आयोजनास्थलमा बेसिक क्याम्प हाउस, ढकारीबाट विद्युत्गृहसम्म २१ किमी पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । कम्पनीले विद्युत् खरीद सम्झौता (पीपीए)का लागि नेपाल विद्युत् प्राधिकरणसँग आवेदन दिएको छ । यस्तै वातावरणीय अध्ययन र जग्गा अधिग्रहण प्रक्रिया शुरू भइसकेको छ ।

आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति (कन्स्ट्रक्शन पावर) कम्पनीले कैलालीको सुगरखालबाट करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने तयारी गरेको छ । त्यस्तै तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा १०० र २०० मिटर लम्बाइका एक÷एक गरी चारओटा अडिट टनेल निर्माण गरिएको छ । विस्तृत इञ्जिनियरिङ अध्ययन प्रतिवेदनअनुसार १७२ दशमलव ७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा छ÷छ ढोका राखिनेछ । बाँधको पानीलाई दुई किमी लम्बाइ र आठ मिटर व्यासका तीन सुरुङबाट विद्युत् उत्पादन गृहसम्म पु¥याइनेछ ।

बाँधदेखि २ दशमलव १५ किमी तल भूमिगत विद्युत्गृह रहनेछ । विद्युत्गृहमा ७१ दशमलव ६८ मेगावाटका ६ टर्वाइन रहनेछन् । आयोजनाका लागि बाँध निर्माण गर्नुपूर्व कर्णाली नदीलाई ९ दशमलव ८ मिटर व्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाइका दुई डाइभर्सन टनेलबाट मोडिनेछ ।

आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको ७ र अछामको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यद्यपि उक्त स्थानमा मानवबस्ती न्यून छ । ८८ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माण शुरू भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x