काठमाडौं, २४ मंसिर । नेपालका लागि एमजी ९मोरिस ग्यारेज० मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले चारपांग्रे गाडी ‘हेक्टर’ सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौँस्थित नक्सालमा एक कार्यक्रम गरी ‘हेक्टर’ सार्वजनिक गरेको हो।
१.५ लिटरको टर्बोचार्जड इन्टरकुल इन्जिनयुक्त हेक्टर एमटी र सिभिल सिभिटी दुबै भेरियन्टमा उपलब्ध छ। हेक्टर एमटीको मूल्य नेपाली बजारमा ५९.९९ लाख र हेक्टर सिभिटको ६४.९९ लाख रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, हेक्टर साइन सिभिटीको मूल्य ६४ लाख ९९ हजार, हेक्टर स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार, हेक्टर स्मार्ट सिभिटीको मूल्य ७० लाख ६० हजार, हेक्टर सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार र हेक्टर सार्प सिभिटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ छ।
एसयुभी क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पशु बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषता रहेको कम्पनीले जनाएको छ। एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीको दाबी छ। भारतमा बनेको यो एसयुभी नेपालस्थित सम्पूर्ण डिलरसिपमा उपलब्ध छ।
कम्पनीका अनुसार यो हेक्टरको नयाँ मिड–स्केप भेरियन्ट हो। जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो–स्केप र टप–स्केप ट्रिम बीचमा छ।
हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाले ग्राहकको अपेक्षालाई सम्बोधन गर्ने कम्पनीको विश्वास छ। यस्तै, सोही कार्यक्रममा कम्पनीले जोन्टा क्लब अफ काठमाडौँबीच सहकार्य भएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लबलाई १० लाख आर्थिक सहयोग गरेको छ।
क्लबकी अध्यक्ष सीमा गोल्छाले सो रकम घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाहविरुद्ध आवाज उठाउन जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गरिने बताइन्।