सोलु कोरिडोर प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं, ११ पुस । सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम सकिएको छ । स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या तथा निर्माण व्यवसायीको प्रभावकारी कार्यक्षमताको अभावसमेत बेहोरेको सो प्रसारण लाइनको निर्माण शनिवार सम्पन्न भएको हो ।
प्रसारण लाइनको मार्ग परिवर्तन माग गर्दै उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्षदेखिको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम सकिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर प्रयास, नेपाल विद्युन् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण आयोजनाको निर्माण सम्पन्न भएको हो ।
सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको संख्या ३०२ वटा छ । प्रसारण लाइनका हरेक टावर आयोजना जस्तै हुने गरेको तितो यर्थाथसमेत सो आयोजनाले भोगेको छ । केही समय पहिले कोशी कोरिडोर २२० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण सम्पन्न भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने जानकारी दिए ।
प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिनेछ भने अर्काेतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दाे र गुणस्तरीय हुनेछ । साथै विद्युत् चुहावट पनि घट्नेछ । सोलुखुम्बुको तिंलामा १३२÷३३ र ३३÷११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । यो सँगै सिराहाको लाहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न सकिनेछ ।