एमसीसीबारे सरकारको धारणा आउनुपर्ने ओलीको भनाई
विराटनगर, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमसीसीका विषयमा व्यक्तिगत रुपमा सरकार स्पष्टिकरण आवश्यक भएको बताए ।
सत्ता साझेदार दलबीच नै एमसीसीबारे सहमति जुट्न नसकिरहेका बेला उनले सरकारको धारणा आउनुपर्ने बताएका हुन् । केही नेताले एकीन धारणा नराख्दा एमसीसीबारे सहमति जुट्न नसकेको स्वीकार गरे ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सर्वदलीय बैठकमार्फत एकै धारणा बनाउने प्रयासमा रहे पनि निष्कर्ष निस्किन नसकेको अध्यक्ष ओलाीको भनाई छ ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन । एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान दिनेछ । त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ ।