राष्ट्रिय प्रणालीको विद्युत् चुहावट १४.३५ प्रतिशत
काठमाडौं, १२ पुस । नेपाल विद्युत् प्राधिकरणले मुलुकको राष्ट्रिय प्रसारण लाइन अन्तर्गत विद्युत् चुहावट १४.३५ प्रतिशतमा सीमित गरेको छ । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार एक प्रतिशतमात्रै चुहावट घटाउँदा करिब ७० करोड बराबरको मुनाफा हुन्छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको हो ।
गत कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
आव २०७२÷७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६÷७७ मा १५.२५ प्रतिशतमा झारेको थियो । आव २०७७÷७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो ।