नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालन
काठमाडौं, १५ पुस । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा आएको छ ।
लाहाचोकमा १३२–३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ ।
यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरिय र भरपर्दाे हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायत समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दाे र गुणस्तरीय विद्युन् पाउनेछन् भने विद्युत् चुहावट समेत घट्नेछ,’ उनले भने ।
आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ बाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।