Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निगमले आईओसीलाई पठायो १३ अर्ब

निगमले आईओसीलाई पठायो १३ अर्ब

काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पाेरेसन (आईओसी)लाई १३ अर्बभन्दा बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार निगमले सोमवार आईओसीलाई १३ अर्ब २० करोड पठाएको हो ।
सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रवारको बैठकले आईओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्काे महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।
निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतवार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तानी गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x