Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

इयूको कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह

इयूको कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौं, २४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीमा रहेकाले नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् ।

मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।

‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,’ उनले भने ।

उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रबर्द्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन समेत दिइन् ।

इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरेकी थिइन् ।

हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भनिन्, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x