Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले हिजो एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ । यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ भन्दै केन्द्रीय बैंकले त्यस्तो कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको स्मरण गराएको छ ।

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र अमेरिकी डलर तीन अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारबाट उपभोक्ता संरक्षणमा पनि असर गर्ने देखिन्छ भन्दै केन्द्रीय बैंकले नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ता असुरक्षित हुने बढी सम्भावना रहने स्पष्ट पारेको छ ।
क्रिप्टोकरेन्सीको प्रयोगबाट पूँजी पलायनको नियमनमा पनि असर गर्ने स्पष्ट पार्दै केन्द्रीय बैंकले नेपाल जस्तो सीमित पूँजी भएको र स्वदेशी पूँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पूँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x