Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन मन्त्रालयद्वारा सर्वसाधारणका लागि गद्दी बैठक खुला

पर्यटन मन्त्रालयद्वारा सर्वसाधारणका लागि गद्दी बैठक खुला

काठमाडौं, २ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाकालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिएको छ ।

हनुमानढोका दरबार संग्रालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ ।

गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ । ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा पुग्नेछ् ।

यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो । कोरोना महामारी कम भएपछि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्ता गतिविधिले विदेशी एवं स्वदेशी पर्यटकलाई सम्पदास्थलमा आकर्षण गर्ने बताए ।

प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ । प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ ।

यो प्रदर्शनीसँगै गद्दी बैठक पनि सर्वसाधारणका लागि खुला गरिएको छ । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो । गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x