Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

माघ र फागुनमा सुस्तायो कर्जा प्रवाह

माघ र फागुनमा सुस्तायो कर्जा प्रवाह

काठमाडौं । वाणिज्य बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा कर्जा लगानी पनि सुस्ताएको छ । पुस महिनासम्म कर्जा प्रवाहको गति बढे पनि त्यसपछि भने गति सुस्त देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार पुससम्म बैंकहरुबाट कर्जा प्रवाह आक्रमक भए पनि माघ र फागुनमा भने न्यून भएको छ ।

पुसमा बैंकहरुले ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा माघमा १२ अर्ब र फागुन महिनामा १७ अर्ब रुपैयाँ पुगेको छ ।

आव २०७७÷७८ मा पुसमा बैंकहरुले १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने माघमा ७४ अर्ब र फागुनमा ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । पुसको तुलनामा माघमा कर्जाको माग घटे पनि फागुनदेखि लयमा फर्किएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ को पुसमा बैंकले ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा माघमा घटेर १९ अर्बमा सीमित भएको थियो । तर फागुनमा बढेर ५३ अर्ब रुपैयाँ पुगेको थियो ।

अघिल्ला आवहरुमा कर्जा प्रवाह पुसको तुलनामा माघमा घट्ने र फागुनमा निकै बढ्ने गरेको देखिएको छ । तर चालु आव २०७८÷७९ मा त्यस्तो हुन सकेको छैन । पुसको तुलनामा माघ, फागुन दुबै महिनामा कर्जा प्रवाह घटेको छ ।

यसअघि बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरुले कर्जा प्रवाह गर्न नसक्ने अवस्था समेत सृजना भएको थियो । निक्षेप उठाउन नसक्दा बैंकहरुले ब्याजदर बढाएर दोहोरो अंक नै पुर्याइसकेका छन् ।

तर निक्षेप अपेक्षा अनुसार संकलन नहुँदा पनि माग अनुसार कर्जा प्रवाह हुन नसकेको देखिएको छ । अहिले पनि बैंकहरु माग अनुसार कर्जा दिन सक्ने अवस्थामा छैनन् ।

माघ र फागुनमा बैंकहरुले कर्जा प्रवाह घटाएको भएर पनि कम भएको छ । उक्त समयमा बैंकहरुले कर्जा प्रवाहभन्दा पनि ऋण असुलीमा ध्यान दिएका हुन् । तरलता अभाव भएपछि उक्त अवधिमा बैंकहरुले कर्जा प्रवाहमा भन्दा पनि नगद मार्जिन बढी राख्दा पनि कर्जा प्रवाहमा प्रभाव परेको देखिएको छ ।

यसअघि तरलता अभावले प्रवाह हुन नसकेको कर्जा अब वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएपछि त्यसको कारण पनि अपेक्षा अनुसार कर्जा नजाने बैंकर्सहरुको भनाइ छ ।

बैकर्स संघका अध्यक्ष अनिल उपाध्याय वैशाखमा स्थानीय तहको निर्वाचनका कारण कर्जाको माग नबढ्न सक्ने बताए ।

‘स्थानीय तहको निर्वाचन हुँदा पुँजीगत खर्च कम हुन्छ, यसले कर्जाको माग बढाउँदैन,’ उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x