Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि प्राधिकरण छलफलमा

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि प्राधिकरण छलफलमा

काठमाडौं, १० चैत । रुस–युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ । भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका निवेदनबाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् । यसले गर्दा यो सुक्खायामको प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।

मागअनुसार बिजुली दिन सकस हुने भएपछि उद्योगहरुमा लोड व्यवस्थापनका लागि प्राधिकरणले उद्योगी व्यवसायीसँग सहयोग माग्न लागेको हो । आज बिहीबार विहान प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उत्पादक संघ, स्टिल उद्योग संघ लगायतसँग छलफल गर्दैछ ।

उद्योगको माग पूर्ति गर्न हुने विद्युत् आयात प्रभावित भएपछि तालिका बनाएर उद्योग चलाएमा संकट टार्न सकिने प्राधिकरणको विश्वास छ । करिब एक महिनापछि नदीमा पानीको सतह बढेर नेपालकै उत्यादनले माग धान्न सकिने भएकाले केही हप्तासम्म व्यवस्थापनका लागि प्राधिकररणले उद्योगीसँग सहयोग माग्ने भएको छ ।

बुधबार बोलकबोलमा विद्युत् खरिद–बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको थियो । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ ।

भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जबकी विद्युत प्राधिकरणले नेपालका उद्योग कलकारखानालाई प्रतियुनिट औसत ८.५० रुपैयाँमा बिजुली बेचिरहेको छ भने रातिको समयमा ४.५० रुपैयाँ प्रतियुनिटमै उद्योगले बिजुली पाइरहेका छन् ।

बिहीबारका लागि प्राधिकरणले ९६ वटा ब्लकमा गरेको निवेदनमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पारेको छ । बुधबारका लागि औसत भारु १२ मा विद्युत खरिदविक्री भएकाले प्राधिकरणले बिहीबारका लागि सोही मुल्यमा ‘कोट’ गरेको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधबारको औसतभन्दा बढाएर बोलकबोल गर्दा पनि मूल्य माथि गएर धेरै बिड प्राधिकरणलाई परेन । ‘भारतमा अब औसत प्रतियुनिट मूल्य भारु २० सम्म पुग्ने अवस्था देखियो,’ उनले भने,’त्यसो भएमा हामीले आगामी ३५ दिनमा थप साढे ८ अर्ब नोक्सानी ब्यहोर्नुपर्ने देखिन्छ ।’

बिजुलीको मूल्यको जोखिम उद्योग, प्राधिकरण र सरकार सबै मिलेर टार्नुपर्ने घिसिङको भनाइ छ । उद्योगहरुमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले शुक्रबारका लागि थप मूल्य बढाएर विद्युत् किन्न प्रयास गर्ने उनले बताए । सर्वसाधारण उपभोक्ताको घरमा भने यसले कुनै पनि असर नपार्ने घिसिङले स्पष्ट गरे ।

नेपालले भारतको एनटीपीसी विद्युत व्यापार निगम –एनभीभीएनसँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमत रुपमा किन्न सक्ने गरी सम्झौता गरेको छ । तर, एक महिनादेखि ती दुबै एजेन्सीले विद्युतको मूल्य महँगिएको भन्दै नेपाललाई विद्युत बेचेका छैनन् । एनभीभीएनले प्रतियुनिट ४.१२ र पीटीसीले ४.१६ रुपैयाँमा नेपाललाई विद्युत् बेचिरेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले बिजुली बेचेनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x