Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई दिन बढेर नेप्से फेरी ओरालो

दुई दिन बढेर नेप्से फेरी ओरालो

काठमाडौं, ९ चैत्र । शेयर बजारमा यो साता तीन दिन कारोबारमा गिरावट आएको छ भने दुई दिन वृद्धि देखिएको छ । उकालो यात्रामा जान अन्य विषयले साथ दिइरहेको विश्लेषण भइरहँदा पनि साताभरको कारोबार भने सुखद रहेन ।

यो साता कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकम समेत सुस्ताएको थियो । आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो । त्यसपछि दुई दिन बढेर उत्साह थपिने आशमा रहेको बजारमा बुधबार र बिहीबार पुनः गिरावट आएको हो ।

लगातार दुई दिन सोमबार १८.०७ साथै मंगलबार १६.०४ अंकले बढेको बजार बुधबार पुनः घटेको थियो । शेयर बजार बुधबार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा झरेको थियो ।

आज बिहीबार पनि बजारमा गिरावट नै आएको छ । बिहीबार १६.६९ अंकले घटेर २६१३.६७ बिन्दुमा पुगेको छ । लगातार कारोबार रकममा भइरहेको कमीले पनि लगानीरकर्ता बजारमा फर्किन बाँकी रहेको देखाउँछ । बिहीबार ५२ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा शेयर बजारमा दुई दिन सकारात्मक प्रभाव देखिएको थियो । सोमबार उतारचढावमा रहँदै शेयर कारोबारको अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको थियो । मंगलबार १६.०४ अंकको वृद्धि देखिएको बजारले बुधबार र बिहीबार भने उहीअनुरूप साथ पाउन सकेन ।

सोमबार र मंगलबार दुई दिनको लगातार वृद्धिले लगानीकर्तामा विश्वास थपिएको विश्लेषण भइरहँदा बुधबार र बिहीबारको अवस्थाले लगानीकर्ता अझै विश्वस्त नभएको देखिएको छ । बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहँदै फागुनमा २२ अर्बले निक्षेप बढ्नुका साथै चुनावी माहोल बढिरहँदा पनि शेयर बजारले साथ पाउन सकिरहेको छैन ।

आउने साता पनि उतारचढावमै बजार रहने विश्लेषकहरू बताउँछन् । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको विश्वास जित्नेगरी बजारमा सूचकहरू देखिएमा उकालो यात्रा समात्ने उनीहरूको भनाइ छ । गएका केही सातायता देखिएको अवस्था भने आउने साता ब्रेक हुने र बजारमा स्थिरता देखिँदै वृद्धितिर लाग्ने विश्लेषकहरू बताउँछन् । विशेष गरी ठूला लगानीकर्ताको पकडमा रहेको बजारमा चलखेल नहुँदा मात्रै स्वभाविक अवस्था देखिन थाल्ने उनीहरूको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x