पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्ने
काठमाडौं, ११ चैत्र । नेपालमा पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्ने भएको छ । छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेकोले त्यसको असर नेपालमा पर्ने नेपाल आयल निगमले जनाएको छ ।
भारतीय तेल मार्केटिङ कम्पनीहरुले आज शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ ।
चार महिनाभन्दा लामो समयपछि गत मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढेपछि लगातार महंगो हुँदै गएको हो ।
पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ ।
मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ । चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ ।
भारत पेट्रोल र डिजेलको मूल्य राज्यअनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरु राज्यअनुसार फरक हुन्छन् ।
मुडिज इन्भेस्टर्स सर्भिसको एक रिपोर्टअनुसार भारतका प्रमुख तेल कम्पनीहरु आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिने बताएका थिए । जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा व्यहोरेका छन् ।
भारतमा बढ्दा नेपालमा फेरी आगामी हप्ता मुल्य बढ्नेमा दुविधा नभएको निगमको भनाई छ ।