वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो
काठमाडौं, ११ चैत्र । फागुनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झनै घटेको छ ।
महँगी बढीरहेको अहिलेको अवस्थामा नेपालको व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति घटेर ६ महीना भन्दा कम समयको वस्तु तथा सेवाको आयात धान्न मात्रै पुग्ने अवस्थामा पुगेने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार आयातमा आधारित अर्थतन्त्र नै भएपनि विगतमा रेमिट्यान्स आयले विदेशी मुद्राको सञ्चितिमा यति धेरै चाप परेको थिएन ।
पछिल्लो समय रेमिट्यान्ससँगै विदेशिने नेपालीको संख्या पनि घट्न थालेको छ । यसले गर्दा नेपालको अर्थतन्त्र ट्र्याकमा आउन अझै लामो समय लाग्न सक्ने अर्थ जानकार नवराज गौतम बताउछन् ।
विदेश गएका नेपालीहरूले हुण्डीमार्फत रेमिट्यान्स पठाउँदा त्यसले अनौपचारिक अर्थतन्त्रलाई मात्रै टेवा पु¥याइरहेको छ । केही नेपालीहरूले क्रिप्टो करेन्सी लगायतका डिजिटल मुद्रामा लगानी गरेकाले रेमिट्यान्स आय खुम्चिरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
फागुनमा विदेश जाने नेपालीको संख्या ५३ हजार ४०० छ । यो मध्ये २७ हजार ५०० कामदार मात्रै पहिलोपटक विदेशिएका छन् ।
माघमा विदेशीको संख्या ५४ हजार ४०० मात्रै रहेपनि पहिलोपटक विदेशीने कामदारको संख्या ३२ हजार ३०० रहेको थियो ।
समग्रमा २ हजार कामदार मात्रै कम विदेशीएको देखिएपनि पहिलोपटक विदेश जाने कामदारको संख्या ५ हजारले घटेको हो ।
पुसमा ६६ हजार ६०० कामदार वैदेशिक रोजगारीमा जाँदा ३६ हजार कामदार पहिलोपटक विदेश गएका थिए ।
फागुनमा विदेश जाने कामदार मध्ये सबैभन्दा धेरै साउदी १५ हजार र कतारमा १५ हजार तथा संयुक्त अरब इमिरेन्टस् (यूएई) मा ११ हजार कामदार वैदेशिक रोजगारीको लागि गएका छन् ।
पहिलोपटक रोजगारीमा जानेको संख्या साउदी अरबमा ९ हजार पुग्नु बाहेक अन्य देशमा धेरै नै कम नेपाली रोजगारीको लागि पुगेका हुन् ।
कतारमा ५ हजार र यूएईमा ६ हजारको संख्यामा नयाँ कामदार गएपनि अन्य देशहरूमा भने १ हजारको संख्यामा पनि नयाँ कामदार नभएको बैदेशिक विभागले जनाएको छ ।