मेगा बैंकलाई एकैसाथ दुई अन्तरराष्ट्रिय अवार्ड
काठमाडौं, १३ चैत । मेगा बैंक नेपाल लिमिटेडले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड २०२२’ जितेको बताइएको छ । सिंगापुरस्थित वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व बहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निम्ति राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो ।
शिक्षामा बालिकाको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्रालाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले बताएको हो ।
यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो । यसैगरी नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेस आउटलुकले जनाएको छ ।
सीईओ खुञ्जेलीले यसै वर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन्, उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन । २०४ वटा शाखा सञ्चाल रहेको मेगा बैंक स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकको रुपमा अग्रपंक्तिमा रहेको बैंकले बताएको छ ।