स्थानीय तहको चुनावले पूर्व बजेट छलफल नै प्रभावित
काठमाडौं, १५ चैत । सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बिहान बस्नेगरी समिति बैठक डाकिएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय भएको थियो । तर अर्थ समितिका २३ सांसद सदस्यमध्ये बैठकमा सहभागी हुन जम्मा २ सांसदमात्रै पुगेका थिए । नेकपा (एमाले) का सांसद घनश्याम भुसाल र नेकपा (समाजवादी) का सांसद मेटमणि चौधरीमात्रै बैठक कक्षमा पुगेका हुन्।
कोरम नपुगेपछि बैठक स्थगित भएको थियो । सांसदहरु चुनावी अभियानमा केन्द्रीत भएकाले बैठकमा अनुपस्थित रहेको बताइएको छ । अर्थ समिति सचिव सुरेन्द्र भण्डारीले अब अर्थ समिति बैठक नै अनिश्चित भएको बताए ।
योजना आयोग र अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि प्रकृया अघि बढाएसँगै अर्थ समितिले पूर्व बजेट छलफल थालेको हो ।