रोयल्टी नबुझाउने ३ क्यासिनो बन्द, अझै ९० करोड उठाउन बाँकी
काठमाडौं, १७ चैत । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने रोयल्टीको बक्यौता रकम नबुझाउने ३ वटा क्यासिनो बन्द गराउन पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएको थियो।
बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको छ ।
विभागका अनुसार रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र र्याडिसन होटल लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ।पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ।
आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ। हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाइ सरकारको खातामा ८७ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।